विद्यालय तहमा बहुभाषिक कक्षा शिक्षणको अवस्था र चुनौती
DOI:
https://doi.org/10.3126/thj.v17i1.77927Keywords:
बहुभाषिकता, भाषा शिक्षण, भाषिक पृष्ठभूमि, मातृभाषा, सिकारुAbstract
यस लेखको मुख्य उद्देश्य नेपालका विद्यालयीय कक्षामा बहुभाषिक कक्षा शिक्षणको अवस्था र चुनौतीको पहिचान गर्नुमा केन्द्रित रहेको छ । प्रस्तुत अध्ययन मूलतः गुणात्मक अनुसन्धान ढाँचामा आधारित रहेको छ । यसमा अवस्था/घटना अध्ययन सम्बद्ध वर्णनात्मक विधि प्रयोग गरिएको छ । यसमा काठमाडौँ जिल्लाका चारवटा विद्यालयका शिक्षकहरूका अनुभवहरूलाई तथ्यका रूपमा लिई अध्ययन गरिएको छ । बहुभाषिकता नेपालको राष्ट्रिय पहिचान हो । मातृभाषी र बहुभाषी शिक्षक उपलब्ध नहुँदा बहुभाषिक शिक्षण सिकाइ जटिल बन्ने गरेको छ । शिक्षकहरूमा बहुभाषिक कक्षाशिक्षण सम्बन्धी आवश्यक ज्ञान, सिप, तालिम र दक्षताको कमीले शैक्षिक स्तर कमजोर हुन पुगेको छ । सिकारुको भाषिक पृष्ठभूमि, सामाजिक–सांस्कृतिक विविधता, पारिवारिक–आर्थिक पृष्ठभूमि, सिकाइ क्षमतागत विविधता, शिक्षकले सिकाउने तौरतरिकामा भिन्नता आदिले नेपालको बहुभाषिक शिक्षाको स्वरूप विविधतामूलक बनेको छ । सिकारुको भाषिक पृष्ठभूमि, सानो कक्षाकोठा, अत्याधिक विद्यार्थी सङ्ख्या, पाठ्यसामग्रीको अभाव, छुट्टाछुट्टै समूह निर्माण, अभिभावकहरूको अङ्ग्रेजी भाषाप्रतिको बढ्दो आकर्षण आदिका कारण बहुभाषिक कक्षा व्यवस्थापनमा चुनौती देखिएका छन् । यी विभिन्न चुनौतीहरूको सामना गर्न योग्य र दक्ष बहुभाषी शिक्षकको व्यवस्था गर्नुपर्दछ । भाषाको शिक्षण सिकाइलाई बालमैत्री बनाई बालबालिकाहरूको भाषिक सङ्कोचलाई हटाउँदै उन्नत सिकाइतर्फ अग्रसर हुनुपर्दछ । बहुभाषी शिक्षालाई मातृभाषामा शिक्षण गरेर वा सिकारुको मातृभाषामा शब्द, पद, पदावली वा वाक्य प्रयोग गरेर भाषिक सहजीकरण गर्न सकेमामात्र प्रभावकारी बहुभाषिक कक्षा शिक्षण हुनसक्ने देखिन्छ ।