बहुकक्षा बहुस्तर शिक्षण सिकाइ र यसको सान्दर्भिकता {Multi class multilevel teaching learning and its relevance}
DOI:
https://doi.org/10.3126/tej.v10i1.46873Keywords:
Tex Coding, Jigsaw, Multi class Multilevel Learning, Think Pair Share, बहुकक्षा बहुस्तर सिकाइ, थिङ्क पेयर सेयर, जिग्स, टेक्स कोडिङAbstract
वर्तमान समयमा बहुकक्षा बहुस्तर शिक्षण सिकाइलाई सिकाइको सन्दर्भमा नवीन प्रयोगका रुपमा लिने गरिन्छ । बहुकक्षा बहुस्तर शिक्षण सिकाइले विभिन्न कक्षाका विभिन्न सिकाइ स्तर भएका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सिकाउने तरिकालाइ जनाउँछ । यस किसिमको सिकाइमा विद्यार्थीहरुले आफ्नो क्षमता अनुसार एकै परिवेशमा बसेर सिक्ने अवसरप्राप्त गर्दछन् । बहुकक्षा बहुस्तर शिक्षण सिकाइमा विभिन्न उमेर समूहका बालवालिकाहरुको वैयक्तिक विभिन्नतालाई समेटेर सबैको आवश्यकता, रुचि तथा क्षमताको सम्बोधन हुने गरी शिक्षण सिकाइ प्रक्रिया अवलम्बन गरिएको हुन्छ । यस सिकाइमा एक भन्दा बढी कक्षाका फरक फरक सिकाइ स्तर भएका बालवालिकाहरु एकै समयमा एउटै कक्षाकोठामा र एउटै बसाई व्यवस्थापनमा रहेर सिक्ने गर्दछन् । यसका लागि शिक्षक भने एक पटकमा एक जना मात्रहुने गर्दछ । व्यक्तिले आफ्नो क्षमता अनुसार आफै सक्रिय भएर हुने सिकाइले यस प्रक्रियामा निरन्तरता पाउने गर्दछ । नेपालको सन्दर्भमा बहुकक्षा बहुस्तर शिक्षण सिकाइको प्रयोग हुन थालेको एक दशक भइसकेको वर्तमान परिवेशमा यसको प्रयोग के–कसरी भइरहेको छ, यसबाट लाभान्वित व्यक्तिहरुको सिकाइको अवस्था के कस्तो छ, यस पद्धतिका समस्याहरु के–के छन् र ती समस्याहरु के–कसरी समाधान गर्न सकिन्छ भन्ने सन्दर्भमा उपायहरु प्रदान गर्ने उद्देश्यसहित यस अध्ययन कार्यलाई पूर्णता दिइएको छ । यसका साथै यो नयाँ किसिमको अभ्यास भएकोले यसको व्यापकता सम्भव छ वा छैन भन्ने तथ्यलाई पनि यस अध्यनबाट हेर्ने जमर्को गरिएको छ । काभ्रेपलाञ्चोक जिल्लालाई अध्ययन क्षेत्र बनाई गरिएको यस अनुसन्धानमा बहुकक्षा बहुस्तर शिक्षण सिकाइ पद्धति अवलम्बन गरिएका सम्पूर्ण विद्यालयहरु र त्यहाँ अध्ययन अध्यापनमा सङ्लग्न शिक्षक र विद्यार्थीहरु जम्मा जनसङ्ख्या रहेकोमा केवल तिनवटा विद्यालयहरुलाई अवस्था Case का रुपमा छनोट गरिएको छ । यस अनुसन्धानको नमूना आकारका रुपमा छनोटमा परेका तिनवटा विद्यालय तथा यसमा अध्ययन गर्ने विद्यार्थी र अध्यापन गर्ने शिक्षकहरु रहेका छन् । उद्देश्यमूलक नमूना छनोट विधिबाट यस अध्ययनका नमूनाको छनोट गरिएको छ । सबै तह र कक्षाका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सिकाउनका लागि शिक्षकलाई कठिनाई भएको र सिकारुहरुलाई आवश्यक केही विषयवस्तु बाहेक सबै अवस्थामा यो पद्धति सान्दर्भिक नभएको यस अध्ययनबाट देखिएको छ । त्यसैले यसको प्रभावकारीताका लागि शिक्षकलाई आवश्यक तालिमको प्रबन्ध गर्ने र विद्यार्थीहरुलाई अनावश्यक रुपमा एकै ठाउँमा बस्नुपर्ने बाध्यता भन्दा पनि स्वेच्छाले नै सिमीत तथा नवीन कुराहरु सिकाउनका लागि मात्र एकै बसाईको व्यवस्थापन गरी सिकाउँदा यसको सान्दर्भिकता तथा प्रभावकारीता दुवै बढ्ने देखिन्छ । गुणात्मक अनुसन्धान ढाँचामा आधारित अध्ययन भएकोले यस अनुसन्धानबाट प्राप्त निचोडलाई भने समान गुणयुक्त जनसङ्ख्यामा सामान्यीकरण गर्न सकिँदैन ।