भाषिक सृष्टिप्रक्रियामा ॐ को भूमिका
DOI:
https://doi.org/10.3126/ss.v10i1-2.68621Keywords:
परा,, पश्यन्ती,, मध्यमा,, बैखरी,, प्रणव,, वाचकAbstract
प्रस्तुत लेख भाषिक सृष्टि प्रक्रियामा ॐ को भूमिकाको निरूपणमा केन्द्रित छ । यस लेखमा विश्लेषणात्मक र तुलनात्मक विधिको उपयोग गरी पौरस्त्य वाङ्मयका वेदान्तर्शन र व्याकरणले निर्देश गरेका मान्यताका आधारमा भाषिक सृष्टि प्रक्रियामा ॐ को भूमिकाको बारेमा विश्लेषण गरिएको छ । यसरी विश्लेषण प्राप्त भएको निष्कर्ष के हो भने जीवनजगत्को सृष्टिको मूल आधारका रूपमा रहेको ब्रह्मको चित् रूपको प्रतिनिधित्व गर्ने भएकाले ॐ समग्र ज्ञान, चेतना र भाषाको मूल आधार हो । यो स्वयम् उत्पन्न ध्वनि
हो । यो भाषाको परा अवस्था हो । यसैले यो व्यक्तिविशेषबाट उच्चरित हुने नभई समग्र ब्रह्माण्डमा नित्यनिरन्तर व्याप्त भइरहने समष्टि ध्वनि हो । यही ॐ नै स्पृष्ट, ईषत्स्पृष्ट, ईषद्विवृत, विवृत आदि आभ्यन्तर प्रक्रियाद्वारा बैखरी रूपमा अभिव्यक्त हुँदा ‘अ’, ‘उ’ र ‘म्’ गरी तीन ध्वनिमा अभिव्यक्त हुन्छ र यसपछि यिनै तीन ध्वनिबाट अन्य ध्वनि उत्पन्न हुन्छन् । ॐ मा एकीकृत रूपमा रहेका लिपिचिह्नहरू ले पनि ‘अ’, ‘उ’ र ‘म्’ लाई नै सङ्केत गरेका छन् । यसमा ‘म्’ लाई अनुनासिक चिह्नले सङ्केत गरेको छ । भाषाको सृष्टि हुने क्रममा पनि सर्वप्रथम अवर्ण, त्यसपछि उवर्ण अनि ओष्ठस्थानीय व्यञ्जन वर्णको सृष्टि हुने भएकाले ॐ भाषाको प्रमुख स्रोतका रूपमा रहेको छ भन्ने स्पष्ट हुन्छ । शिशुले भाषाको उच्चारण गर्दा पहिले अवर्ण, त्यसपछि उवर्ण अनि ओष्ठस्थानीय व्यञ्जन वर्ण (प, फ, ब, भ, म) र अनि मात्र अन्य स्वर र व्यञ्जन वर्णको उच्चारण गर्नुले पनि यस तथ्यको पुष्टि हुन्छ । यसैले भाषिक सृष्टि प्रक्रियामा ॐ को प्रमुख भूमिका छ भन्ने यस लेखबाट प्राप्त भएको निचोड हो ।