नाट्यप्रयोजन सिद्धिमा दोभान नाट्यकृतिका संवाद
DOI:
https://doi.org/10.3126/ss.v10i1-2.68615Keywords:
अनुक्रिया,, आह्लादजनक,, नाट्यसंवाद,, सम्प्रेषणAbstract
प्रस्तुत लेख नाट्यप्रयोजन सिद्धिमा दोभान नाट्यकृतिका संवाद केकति समर्थ छन् भन्ने प्राज्ञिक जिज्ञासा समाधानमा केन्द्रित छ । नाट्यपात्रका संवेगात्मक जीवनबाट अनायास निःसृत भई दर्शकको संवेगात्मक जीवनलाई पनि उद्बुद्ध, उद्दीप्त र अभिव्यक्त तुल्याउन पनि समर्थ र अभिनेय गुणसम्पदाले सम्पन्न नाट्यपात्रका आपसी कुराकानी, सबालजबाफ र क्रियाप्रतिक्रिया नाट्यसंवाद हुन् । पात्रको चरित्रचित्रण, कथानकको विकास कथ्य सम्प्रेषण र रसनिष्पत्तिका आधार नाट्यसंवाद नै हुन् । नाटक मूलतः रङ्गकर्मीका अभिनय कलामा रूपायित भई दर्शकसामु दर्शककै लागि प्रस्तुत गर्न रचना गरिने भएकाले संवादमा जति मात्रामा अभिनेय गुणसम्पदा हुन्छन् त्यति नै मात्रामा नाट्यकृतिले दृश्यकाव्यको महिमा सिद्ध गर्छ । त्यसैले नाट्यकृतिको मूल्यनिरूपण रङ्गमञ्चीय प्रस्तुतिका सापेक्षतामा गर्नु युक्तिसङ्गत हुन्छ । प्रस्तुत लेखमा पनि नाटकलाई प्रदर्शनकारी काव्य मानेर प्रयोजन सिद्धिमा दोभान नाट्यकृतिका संवादको वैशष्ट्यि निरूपण गरिएको छ । यसनिम्ति पूर्वीय नाट्यशास्त्रीय मान्यतालाई सैद्धान्तिक आधार बनाइएको छ । अध्ययन परम्परामा ‘दोभान’ नाटकको अध्ययनविश्लेषण श्रव्य/पाठ्यसाहित्यका तत्त्वका आधारमा गरिएको भए पनि प्रयोजन सिद्धिमा दोभान नाट्यकृतिका संवाद कति समर्थ छन् भत्रे विषयलाई मुख्य विषय बनाई विशिष्टीकृत अध्ययनविश्लेषण भएको देखिँदैन । त्यस परिप्रेक्षमा प्रस्तुत अध्ययनको औचित्य पुष्टि भएको ठानिएको छ । प्रस्तुत अध्ययनमा व्याख्यात्मक तथा विश्लेषणात्मक विधि प्रयुक्त छ । कथ्यसम्प्रेषण, चरित्रचित्रण, कथानकविकास तथा परिवेशरचनामा दोभान नाट्यकृतिका संवाद प्रभावकारी छन् । साथै संवादहरू अभिनेय गुणवैशिष्ट्यले समृद्ध छन् । यिनै विशेषतासम्पन्न संवादहरूले नाट्यकृतिले दृश्यकाव्य हुनुको महिमा सिद्ध गरेको छ भन्ने यस अध्ययनको निष्कर्ष हो ।