छाडिएका भगवान् कथामा यथार्थवाद
DOI:
https://doi.org/10.3126/ss.v7i1-2.65980Keywords:
चित्रात्मकता, तथ्यात्मकता, यथार्थता, वस्तुता, सत्य निरूपणAbstract
प्रस्तुत समालोचनात्मक लेख रामलाल जोशीद्वारा लिखित छाडिएका भगवान् कथाको विश्लेषणमा केन्द्रित छ । प्रस्तुत कथा जोशीको बाआमा कथासङ्ग्रहमा समाविष्ट छ । सङ्ग्रहमा समाविष्ट बाह्रवटा कथामध्ये आठौँ क्रममा रहेको प्रस्तुत कथाले मूलतः नेपालको सुदूरपश्चिमको समकालीन ग्रामीण परिवेश र त्यससँग सम्बन्धित गाउँबस्तीको वर्तमान यथार्थ अवस्थाको वस्तुपरक प्रस्तुति गरेको पाइन्छ । सुदूरपश्चिममा मात्र नभई नेपालका हरेक ग्रामीण बस्तीहरूमा मान्छे पातलिँदै गएको विषयलाई सङ्केत गरेको प्रस्तुत कथाले त्यसका लागि सुदूरपश्चिमको गाउँलाई माध्यम बनाएको छ । वृद्धवृद्धाहरूलाई आफू जन्मिएको, हुर्किएको र जीवनका महत्त्वपूर्ण समय व्यतीत गरेको आफ्नो भूमि छाड्न मन नलाग्ने तर नयाँ पुस्ताको सहर र विदेशी भूमिप्रतिको मोहका कारण उनीहरू गाउँमा नफर्कने गरेको विषयलाई प्रस्तुत गरेको पाइन्छ । गाउँमा जीवनका अन्तिम समय व्यतीत गरिरहेका वृद्धवृद्धाका आफ्ना भाव तथा उनीहरूकै कथनका माध्यमबाट युवापुस्ताको दृष्टिकोण र व्यवहारलाई प्रस्तुत गरेको यस कथाले वर्तमान नेपालका ग्रामीण समाजको यथार्थको चित्रलाई प्रस्तुत गरेको पाइन्छ । कथामा अभिव्यक्त भएको विषय, भाषा र भावको तथ्यात्मकताले कथालाई यथार्थवादी कथाका रूपमा प्रस्तुत गरेको पाइन्छ । प्रस्तुत लेखमा रामलाल जोशीको छाडिएका भगवान् कथालाई प्रमुख स्रोत सामग्रीका रूपमा चयन गरेर पुस्तकालयीय स्रोत सामग्रीको प्रयोग गरी अध्ययनलाई अगाडि बढाइएको छ । पहिचानात्मक तथा विश्लेषणात्मक विधिको प्रयोग गरी अध्ययनलाई सम्पन्न गरिएको छ। प्रस्तुत समालोचनात्मक लेखमा छाडिएका भगवान् कथामा यथार्थवादको केकस्तो प्रयोग पाइन्छ भन्ने मुख्य समस्यामूलक प्रश्नमा केन्द्रित रही कथालाई यथार्थवादी दृष्टिकोणबाट विश्लेषण गरी प्रस्तुत कथा यथार्थवादका सापेक्षमा सवल र प्रभावकारी रहेको निष्कर्ष निरूपण गरिएको छ ।