ताप्लेजुङमा प्रचलित लोकनृत्यहरू
DOI:
https://doi.org/10.3126/ss.v7i1-2.65973Keywords:
क्यासिङ, छ्योदार, नाम्सानिसा, पारुहाङ, सैन्दुघेनAbstract
प्रस्तुत लेखमा ताप्लेजुङ जिल्लामा बसोबास गर्ने जातजातिका माझ प्रचलित लोकनृत्यहरूलाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रचलनमा रहेका नृत्यहरू पर्व, उत्सव संस्कार या सभासमारोहका अवसरमा प्रदर्शन गरिने मनोरञ्जनसँग सम्बन्धित रहेका छन् । यस प्रकारका लोकनृत्यहरूमा आख्यानको प्रयोग भए या नभए वा वाद्यवादनसहित या वाद्यवादन रहित जे जस्तो रूपमा प्रदर्शन गरिने भए पनि यहाँ प्रचलित नृत्यहरू महत्त्वपूर्ण रहेका छन् । यहाँ प्रचललनमा रहेका लोकनृत्यहरूको प्रस्तुतिमा कतिपयमा महिला र पुरुषको समान रूपमा उपस्थिति रहेको पाइन्छ भने कतिपय लोकनृत्यमा महिलाको मात्र र कतिपयमा पुरुषहरूको मात्र पनि उपस्थिति रहेको पाइन्छ ।
यहाँ प्रचलित लोकनृत्यका लागि आवश्यक सैद्धान्तिक अवधारणाका साथै ताप्लेजुङ जिल्लामा प्रचलनमा रहेका लोकनृत्यलाई भौगोलिक सीमा बनाई अध्ययनको विषयवस्तु बनाइएको छ । यहाँ प्रस्तुत गरिने लोकनृत्यहरू के कसरी कुन समयमा प्रस्तुत गरिन्छन् भन्ने जिज्ञासाको अनुशीलन यस लेखमा गरिएको छ । यस लेखमा नृत्यसँग सम्बन्धित सामग्री क्षेत्रकार्यका साथै यस विषयका स्थानीय विज्ञ व्यक्तिहरूसँग सोधपुछ गरी अध्ययनको आधार तयार पारिएको छ । यस अध्ययनमा सिद्धान्तका लागि पुस्तकालयीय कार्यबाट र द्वितीयक सामग्री सङ्कलन गरी यसको सैद्धान्तिक ढाँचासमेत तयार पारिएको छ । यस अध्ययनमा सम्बन्धित क्षेत्रमा नृत्यको प्रस्तुति के कसरी गरिन्छ र कुन समयमा नृत्यहरू प्रस्तुत हुन्छन् भन्ने कुरा जनसमक्ष ल्याएर ती नृत्यहरूका बारेमा परिचित गराउनु यस अध्ययनको महत्त्वपूर्ण उपलब्धि मानिएको छ । यहाँ प्रचलनमा रहेका चण्डीनाच, च्याब्रुङनाच, धाननाच, सेलोनाच, दमाईंनाच, भैलिनीनाच, द्यौसीनाच, सँगिनीनाच, रोपाइँनाच, लाखेनाच, रत्यौलीनाच, बालननाच, बिजुवानाच र सरदेवी नाचका बारेमा प्रकाश पारिएको छ ।