मधेसतिर कथाको रचनाविधान
DOI:
https://doi.org/10.3126/ss.v2i2.69311Keywords:
अचेतन, कार्यपीठिका, मनोविश्लेषण, संवेग, स्थापत्यकलाAbstract
कथाकार विश्वेश्वरप्रसाद कोइराला आधुनिक नेपाली कथालेखनका अगुवा हस्ती हुन् । सामाजिक यथार्थवादी कथालेखनको व्यतिरेकमा फ्रायडीय मनोविश्लेषणलाई भित्र्याएर उच्च कोटिका कथा पस्किने उनले नेपाली भाषामा दुई दर्जन बढी कथाहरू लेखेका छन् । प्रवासमा रहँदा प्रारम्भ भएको यिनको लेखनक्रममै वि.सं. १९९८ मा दार्जिलिङबाट प्रकाशित कथा हो ‘मधेसतिर’, जुन पछि ‘दोषी चस्मा’ कथा सङ्ग्रहमा सङ्गृहीत छ । जीवनको अमूर्त सत्यलाई व्यक्त गर्ने लक्ष्य लिएको यस कथाले यौन बुभुक्षा र उदर बुभुक्षालाई एकसाथ उठाएको छ । मानिसको नैतिकतालाई सम्पत्तिको पोकोले धज्जी उडाएको छ । यसमा सामाजिक कुरीति र आर्थिक विपन्नता मात्र नभई पात्रका मनोलोकको अध्ययन गरिएको छ । कोइरालाका कथाहरूमध्येको फरक वैशिष्ट्य बोकेको यस कथाको वस्तुपक्षमा केन्द्रित भई अध्ययन गर्ने कार्यलाई समस्याका रूपमा लिई त्यसको समाधान खोज्नु यस अध्ययनको उद्देश्य रहेको छ ।कथालाई प्राथमिक सामग्री र त्यसबारे गरिएका अध्ययन तथा सैद्धान्तिक विमर्शसम्बद्ध ग्रन्थलाई द्वितीयक सामग्री बनाई गुणात्मक ढाँचाको अध्ययन गरिएको यस अध्ययनमा कथामा रहेका तथ्यको वस्तुविश्लेषणका आधारभित्र राखेर अध्ययन गरी निष्कर्षमा पुग्ने काम गरिएको छ । आगमनात्मक विधिको उपयोगलाई महत्त्व दिँदै वर्णनात्मक, विश्लेषणात्मक र तार्किक विधिको समेत अवलम्बन गरिएको छ । बिधवाको बालवैधव्य जीवन र समाजका रुढिगत भावना, विधवाप्रतिको सामाजिक दृष्टिकोण एवम् त्यसले व्यक्तिको मनोजगतमा सिर्जित मनोद्वन्द्वका साथै आर्थिक अभाव र विकल्पविहीन निरीह स्थितिले पहाडबाट मधेसतिर झर्नुका तीता बाध्यता पस्किने कथाको रचनाविधानसम्बद्ध खासगरी कार्यपीठिका, सारवस्तु, रुचिक्षेत्र, चरित्रचित्रण, दृष्टिविन्दु, रूपविन्यास आदि शीर्षकहरूमा विभाजन गरेर विश्लेषण गरी निष्कर्षमा पुग्ने काम यस आलेखमा गरिएको छ ।