खुवालुङ : किराँत सांस्कृतिक स्थल

Authors

  • शालिकराम राई

DOI:

https://doi.org/10.3126/sotang.v4i4.57086

Keywords:

किरात, सांस्कृतिक स्थल, खुवालुङ, नछुङ, मुन्दुम, रिसिया

Abstract

खुवालुङ किरात सांस्कृतिक स्थल हो । मूर्त रूपमा खुवालुङ एउटा प्राकृतिक शिला हो भने अमुर्त रूपमा सांस्कृतिक आस्थाको स्थल हो । यसलाई एउटा कुनै भौगोलिक विन्दुका रूपमा मात्र मात्र नभई एक बृहत क्षेत्रको रूपमा बुझिन्छ । मुन्दुमी परम्परामा सांस्कृतिक कार्यहरू गर्दा किराती नोछुङ (धामी) हरूले मौखिक रिसिया (श्लोक) हरूमा खुवालुङलाई पटकपटक पुकार गर्दछन् । किरात भन्नाले राई, लिम्बू, याख्खा, सुनुवार, हायू, जिरेल, सुरेल, थामी जातिलाई बुझ्ने गरिन्छ । परापूर्वकालदेखि अहिलेसम्म पनि यी जातिको मूल थातथलो विशेषतः पूर्वाञ्चलका पहाडी जिल्लाहरूमा रहेको देखिन्छ । भौगोलिक हिसाबले खुवालुङ धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका वडा नं. ७ र उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं. २ को सीमानामा बग्ने पाँच नदीहरू – सुनकोसी, भोटेकोसी, लिखु, इन्द्रावती र दुधकोसी मिसिएर बनेको पञ्चकोसी नदी र त्यसमा अरूण र तमोर मिसिई बन्ने सप्तकोसी नदीको त्रिवेणीको बिचमा प्रतीकात्मक ढुङगाको रूपमा अबस्थित छ । किरातीहरूको जीवन दर्शन मुन्दुममा वर्णित आख्यान अनुसार बन्द खुवालुङलाई किरात नोछुङ (धामी) पुर्खाहरूले मुन्दुमको रिसिया गाएर यसको ढोका खुलाएका थिए । द्वार खुलेपछि यहाँबाट चार दाजुभाइको हुलबाट आपसमा छुट्टिएका थिए । तर यसरी छुट्टिनेहरू कोको थिए भन्ने बारे अनुसन्धाताहरूको एक मत देखिँदैन । खुवालुङ एउटा साँस्कृतिक अवधारणा हो जसले गर्दा किराती पुर्खाहरूले यसलाई बसाइँसराइको क्रममा छाडेको स्मरणीय र महत्त्वपूर्ण मुन्दुमी थलोको रूपमा रिसिया मुन्दुमहरूमा सम्झिरहने गर्दछन् । मुन्दुममा यसलाई “खुवालुङ ओ आसेलुङ ओ ।।। कैबोलोनी हो मैनानेपा हो आसेलोनी हो मैनानिए हो ।।।” ( अर्थ ः हे खुवालुङ, तिमीलाई हामीले उहिले उहिलेदेखि श्रद्धा गर्दै आएको हो है) भन्दै पुकार गरिन्छ । अर्को महत्त्वपूर्ण तथ्य भनेको सिली नृत्य हो । किरात राईहरूले बिभिन्न सांस्कृतिक कार्यमा सिली नृत्य नाँच्दछन् । सिली एउटा अभियान र अभिव्यक्ति कला हो । यो नृत्य सर्बसाधारण र मुन्दुमविद् नोछुङ, रिसिमी र कुबिमीहरूले सामुहिक रूपमा गर्ने गर्दछन् । उनीहरूले अन्य सिलीको अतिरिक्त खुवालुङ सिली पनि नाँच्दछन् जुन सिलीले खुवालुङको बन्द द्वारलाई खुलाउने गर्दछन् । यस सिलीको अभिनयबाट किराती जातिहरूले कसरी बसाईसराई गरे भन्ने जीबन्त सङ्केत पाउन सकिन्छ । त्यसैले खुवालुङ किराती समुदायको सांस्कृतिक आस्थाको केन्द्रको रूपमा मानिएको छ । खुवालुङ क्षेत्रलाई सामरिक महत्त्वले पनि हेर्ने गरिन्छ । यस क्षेत्रको सप्तकोसी किनारमा प्राचीन कालमा किरात राजा भीमको बेल्कोट राजधानी भएको राज्य थियो । यहाँ केही वर्ष अघिसम्म पनि गढीको भग्नावशेष रहेको र गढी क्षेत्रमा पुलिकमाला, मट्टीमाला, वाछुइमाला, सिमाला, जिमाला र ताराको गुहु भन्ने ढुङ्गाका मालाजस्ता पुरातात्विक महत्त्वका वस्तुहरू पाइन्थे ।

Downloads

Download data is not yet available.
Abstract
64
PDF
76

Downloads

Published

2022-09-01

How to Cite

राई श. (2022). खुवालुङ : किराँत सांस्कृतिक स्थल. Sotang, Yearly Peer Reviewed Journal, 4(4), 112–124. https://doi.org/10.3126/sotang.v4i4.57086

Issue

Section

Articles