कुमारी आमा उपन्यासमा नारीसङ्केन्द्रण
DOI:
https://doi.org/10.3126/smcrj.v6i1.74530Keywords:
समाख्याता, नारीवादी समाख्यानशास्त्र, पितृसत्ता, सङ्केन्द्रक, सङ्केन्द्रणAbstract
प्रस्तुत अध्ययनमा नारीवादी समाख्यानशास्त्रको मूल अवधारणा नारीसङ्केन्द्रणलाई आधार मानी अनुपम रोशीको ‘कुमारी आमा’ उपन्यासको विश्लेषण गरिएको छ । प्रस्तुत उपन्यासमा नारीसङ्केन्द्रणको स्थिति केकस्तो रहेको छ भन्ने प्राज्ञिक समस्याको निरूपण गर्ने लक्ष्य यस लेखको रहेको छ । यस क्रममा विवेच्य उपन्यासको विश्लेषणका लागि रिमोन केनन र मिकी बलका अवधारणालाई सैद्धान्तिक आधार मानिएको हुनाले यो लेख निगमनात्मक प्रवृत्तिको बनेको छ । पुस्तकालयीय कार्यबाट प्राथमिक तथा द्वितीयक सामग्री सङ्कलन गरी विश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको यो लेख गुणात्मक प्रवृत्तिको बन्न पुगेको छ । रोशीको प्रस्तुत उपन्यासमा समाख्याता तथा चरित्रसङ्केन्द्रकका रूपमा नारीको उपस्थिति भएका हुनाले नारीका विचार, भावना, संवेग, स्वभाव, क्रियाकलाप यथार्थ रूपमा प्रस्तुत हुनाका साथै नारीमाथि गरिने विभेदको विरोध एवम् स्वतन्त्र अस्तित्व र पहिचानको खोजीसम्बन्धी सचेतना सङ्केन्द्रीकृत हुनमा थप टेवा पुगेको निष्कर्ष यस लेखले निकालेको छ । नारीमाथि गरिने पितृसत्तात्मक विभेद, लैङ्गिक विभेदको विरोध एवम् स्वतन्त्र अस्तित्व र पहिचानको खोजी जस्ता विषयलाई प्राथमिकता दिने समाख्याता तथा चरित्रसङ्केन्द्रकको उपस्थितिले उपन्यासलाई नारीवादी बनाएको निष्कर्ष समेत यसमा निकालिएको छ । यस्तै प्रस्तुत उपन्यासमा नारीचरित्रसङ्केन्द्रककै माध्यमबाट नारीका हकहितसम्बन्धी धारणा व्यक्त गरिएको हुनाले नारीदमनको विरोध तथा अस्तित्वको खोजीसम्बन्धी नारीवादी चेतना स्वाभाविक एवम् वास्तविक बनेको निष्कर्ष समेत यस अध्ययनको रहेको छ ।