थाक र थकाली जाति
DOI:
https://doi.org/10.3126/resungaj.v3i1.65884Keywords:
थाक, खोप्चेन, जोङ्काइ, गारावजोङ, म्हरस्याङक्यु, सङिनग्हयूङिन, पुन्डिग्युङAbstract
थाक र थकाली जाितको पहिचान गर्न थाक र थकाली जाति नामक शीर्षकमा तयार गरिएको प्रस्तुत आलेख प्राथमिक, द्वितीयक र तृतीयक स्रोतबाट सामग्री संकलन गरी वर्णनात्मक र अन्वेषणात्मक ढाँचामा तयार गरिएको छ । थकाली जाति कहाँबाट कहिले कसरी सातसय क्षेत्रमा बसोवास गर्न आए भनी खोजी गर्नु नै प्रमुख उद्देश्य हो । मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामा बसोबास गर्ने हिमाल पारि तिब्बतबाट आएका मंगोलियन मूलका आदिवासी जनजातिहरू नै थकाली हुन् । यिनीहरूको पितृ थलो थाक सातसय वा थाक खोला हो । न्यून जनसंख्या भएर पनि देशको शैक्षिक, सामाजिक, आर्थिक, राजनैतिक र धार्मिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुनु थकाली जातिको विशिष्टता हो । पहिलेदेखि नैे थाक खोला क्षेत्रमा बसोवास गर्ने जातिलाई ढिमचन (शेरचन), च्योकी (गौचन), साल्की (तुलाचन) र प्हुर्की (भट्टचन) गरी परिचित गराउने प्रचलन रहेको छ । प्राचीन समयमा थाक खोला क्षेत्रमा दुईथरी थकाली थिए । मार्फाको ताम्रपत्रसहित अनेक पुराना लेखोटमा पुङ्ठी, थाग्सी वा पुन्तन थकाली भनेर स्पष्ट उल्लेख गरिएको छ । थकाली भन्ने परम्परा पर्वते मल्ल राजाको पालादेखि अर्थात लगभग ३०० वर्ष अघिदेखि नै चलेको हो । पुन्ड्याल थकालीको पहिलेको मूल थलो भएको ठाउँलाई पुन्डिग्युङ भनिन्छ । यस राजकूलमा जन्मेका सन्ततिलाई पुन्तन फोवेका नामले आजसम्म चिनिदै आएको छ । यिनैका सन्ततिलाई आज स्थानीय वासीले सली राजवंशका खानदानका रूपमा रहेको स्वीकार गरी हिराचन अन्तर्गतका प्याफोवे परिवारका रूपमा चित्रण गरेका छन् । विगत १० पुस्तादेखिका राजा र रानीका नाम र उनका चेली र ज्वाइँ समेतका नाम समेटिएका लिखत समेत अनुसन्धानका क्रममा फेला परेका छन् । यस म्हरफग–पुन्तन वा पुन्डी थकाली समुदायमा हिजो आज हिराचन , पन्नाचन, जुहारचन र लालचनलाई नामले चिनिने चार थरी थकाली छन् । दुवै थरी थकालीको आधार इलाका थाक र पाँच गाउँ वा युलङ भन्ने भौगोलिक स्थान नै हो । यस क्षेत्रका आदिवासी जनजातिहरूले एउटै भौगोलिक क्षेत्रमा पहिचान बनाएका वा एकै नामको दावी गर्ने साझा चिनारी जस्तो थकाली थर नाम प्रयोग गर्दै आएका छन् ।