रतिनानी कर्खामा सल्यानी समाजको प्रतिबिम्ब
DOI:
https://doi.org/10.3126/phe.v14i1.76639Keywords:
हैजाको महामारी, बनिया, सल्यानी समाज, साइमासो, हाटयात्राAbstract
रतिनानीको कर्खा आख्यानात्मक लोकगीत हो । लोकजीवनका विविध विषयवस्तु कथा, व्यथाहरू समेटिएको यस कर्खाको साहित्यको समाजशास्त्रीय अध्ययनका आधारमा विश्लेषण गरिएको छ । नेपाली साहित्यका विभिन्न विधाहरूको साहित्यको समाजशास्त्रीय अध्ययनका आधारमा विश्लेषण गरेको भए तापनि रतिनानी कर्खामा हालसम्म सल्यानी समाजको प्रतिबिम्ब खोज्ने काम कहीँ कतै गरेको देखिँदैन । यसका लागि सामग्री सङ्कलन गर्न स्थलगत कार्यअन्तर्गत हिमगोल नमुना छनोट विधिको सहायता लिएको छ भने सङ्कलित सामग्रीको निर्मलीकरणका लागि समाजशास्त्रीय सिद्धान्तको उपयोग गरिएको छ । सामग्री निर्मलीकरण गर्दा यस कर्खामा तत्कालीन सल्यानी समाजले उत्पादन गरेका अदुवा, टिमुर, भटमास र जडीबुटीजस्ता नगदेबाली बिक्री गर्न र आफूलाई चाहिने सामग्री खरिद गर्न नेपालगन्ज गएको देखिन्छ । यसका साथै प्रस्तुत कर्खामा सामाजिक परम्पराका रूपमा रहेका विवाहका लागि साइमासो दिने र मृत्यु हुनुपूर्व हिरनका रूपमा सुनको टुक्रा खुवाइदिने संस्कारका झलकहरू पनि व्यक्त भएका पाइन्छन् । यहाँका जनताले जीविकोपार्जनका लागि घोडा, भैँसी, गाई, बाख्रा, भेडा आदि पालन गरेको र जातीय पेसाका रूपमा जलारुहरूले माछा मारेको, धोवीले लुगा धोएर आ ना परिवार पालेको बयान यसमा गरिएको छ । यसमा सल्यानको सांस्कृतिक झलक दिने शिल्पकलाहरू गलामा लगाउने सिक्री, माला, पोते, चुरा, बाला, रँैया, क्लिप, चन्द्रमा, नथिया, मुन्द्री आदिको चर्चा भएको देखिन्छ । यस कर्खामा सल्यानी जनताले प्रयोग गर्ने स्थानीय भाषिकाको स्वभाव अनुसार नाम्रो (राम्रो), लाउने (लगाउने), पाइता (पाइला), डाँरा (डाँडा) आदि शब्दको चर्चा गरिएको छ । यस कर्खामा सल्यान क्षेत्रका मनोरम पहाडी प्रकृतिका सुन्दर नमुनाहरू वर्षा मासमा पिँडालुको कलिलो गाभा पलाएको, बाख्राले धायरो र तिर्सुला खाएको वर्णन गरिएको छ । यसबाट प्रस्तुत लेखमा रतिनानीको कर्खामा सल्यानी समाजका रहनसहन, सांस्कृतिक पहिचान, आर्थिक अवस्था, भौगोलिक अवस्थिति, प्रकृति चित्रण, स्थानीय भाषिका र लयात्मक प्रभावको रहेको प्रस्ट हुन्छ । यो लेख तत्कालीन सल्यानी समाजको अध्ययनका लागि उपयोगी हुने देखिन्छ ।