नेपाली रङ्गमञ्चमा नाट्यप्रविधिको क्रमिक विकास
DOI:
https://doi.org/10.3126/phe.v14i1.76634Keywords:
सडकनाटक, डबली, पारसीरङगमञ्च, ब्याक बक्स, लोकरङगमञ्चAbstract
प्रस्तुत लेखमा नेपाली रङ्गमञ्चमा नाट्यप्रविधि (उपकरण र रङ्गसङ्गीत) को क्रमिक विकास केकसरी भएको छ भनी चर्चा गरिएको छ । मुकुन्द इन्दिरा (१९९४) नाटकको मञ्चनतिथिलाई आधार मान्दा आधुनिक नेपाली रङ्गमञ्चको इतिहास नौ दशकको देखिन्छ । नेपाली रङ्गमञ्चमा रङ्गप्रविधिको विकास समाजविकासको क्रमसँगै विकास भएको छ । बिजुलीको विकास नभएको अवस्था र आज आधुनिक बत्तीको विकास भएको स्थितिमा धेरै फेरबदल आएको कुरा पनि यस लेखमा उल्लेख गरिएको छ । नेपाली रङ्गप्रविधिमा विशेष गरी प्रकाशव्यवस्था र रङ्गउपरणका सन्दर्भमा विदेशी प्रविधिको हस्तक्षेप भएको छ । राणाशासनको समयमा बाहिरबाट झिकाएर प्रयोग गरिएका रङ्गप्रविधिले नेपाली रैथाने प्रविधिलाई छायामा पारेको कुरा पनि यस लेखमा उल्लेख गरिएको छ । यो क्रम राणाशासनको पतनपछि सम्म पनि रहेको देखिन्छ । यसै गरी प्रस्तुत लेखमा रङ्गप्रविधिको क्रमिक विकास हुने क्रममा मितव्ययी स्वरूपको सडकनाटकको विकाससँगै ब्लाक बक्स रङ्गप्रविधि र कम्प्युटरको विकास भएपछि मल्टिमेडियालगायतको अत्याधुनिक रङ्गप्रविधिको विकास भएको निष्कर्ष निकालिएको छ । ऐतिहासिक समाग्रीको अध्ययन र विश्लेषण गएिको प्रस्तुत लेखमा पुस्तकालयकार्यबाट सामग्रीसङ्गलन गरिएको छ । सङ्कलित सामग्रीलाई ऐतिहासिक, तुलनात्मक र विश्लेषणात्मक विधिको सापेक्षतामा विवेचना गरिएको छ । यस लेखमा रङ्गमञ्चको प्रत्यक्ष अवलोकन गरी प्राथमिक स्रोतबाट सामाग्रीसङ्कलन गरिएको छ भने विषय सम्बद्ध पूर्वप्रकाशित सामाग्रीलाई द्वितीय स्रोतका रूपमा प्रयोग गरिएको छ । आगमन र निगमन दुवै विधिको प्रयोग गरिएको यस लेखमा नेपाली रङ्गमञ्चको प्रविधिनिष्ठ ऐतिहासिक अनुरेखाङ्कनको समीक्षा गरी नेपाली रङ्गमञ्च लालटेनदेखि ल्यापटपसम्म केकसरी विकसित भएको छ भनी निक्र्याैल निकालिएको छ । यहाँ नेपाली रङ्गमञ्चका परम्परागतदेखि आधुनिक प्राविधिसम्मको मूल्याङ्कन गरी यसले समृद्धिको बाटो समातेको निष्कर्ष निकालिएको छ । नेपाली रङ्गमञ्चको इतिहासमा प्रविधिको क्रमिक विकासको अनुरेखाङ्कन गर्नु यस लेखको उपलब्धि हो ।