गोविन्द बहादुर मल्ल ‘गोठाले’ को नाटयशिल्प
DOI:
https://doi.org/10.3126/pdmdj.v6i1.67835Keywords:
मनोविश्लेषण, विषयप्रतिपादन, दृश्ययोजना, नाट्य पाठAbstract
प्रस्तुत अध्ययन गोविन्दबहादुर मल्ल ‘गोठाले’ को नाट्यशिल्पको अध्ययनमा केन्द्रित छ । ‘गोठाले’ नेपाली नाट्यसाहित्यका नवयुगका निर्माताका रूपमा देखापर्दछन् । उनले बालकृष्ण समले अँगालेको शेक्सपियरको सुखान्त र दुःखान्त नाट्यलेखन र गोपालप्रसाद रिमालको इब्सनेली परम्पराभन्दा अघि बढेर मनोविश्लेषणात्मक प्रवृत्तिको आरम्भ गरेको देखिन्छ । उनले एकाङ्की, तीन अङ्के नाटक र चार अङ्के नाटकको सिर्जना गरेका छन् । एकाङ्की र तीन अङ्के नाटकको रचना पाश्चात्य नाटकको प्रभावअनुरूप देखिन्छ तर चार अङ्के नाटकको विधान पूर्वीय एवं पाश्चात्य नाट्यपरम्पराभन्दा भिन्न रहेको छ । विषय प्रतिपादनका दृष्टिले उनका नाटक समस्यामूलक छन् । उनका नाटकमा प्रस्तुत समस्या लैङ्गिक, जातीय, आर्थिक र मनोवैज्ञानिक प्रकारका छन् । विशेषगरी उनका नाटकमा नारीसमस्यालाई प्रस्तुत गरिएको छ । त्यो इब्सेनेली नाट्यपद्धति अनुरूप छ । इब्सनेली नाट्यप्रवृत्तिलाई मनोविश्लेषणका साथ नेपाली नाटकमा प्रवेश गराउनु उनको मुख्य योगदान हो । कसिलो कथानक, संवादमा जोड, गतिशील पात्र, अन्तर्बाह्य परिवेशको उद्घाटन, वैचारिकता र प्रतीकात्मक प्रयोग उनका नाटकका मुख्य नाट्यशिल्प हो । उनको नाट्यशिल्पको अध्ययन पूर्वीय एवं पाश्चात्य नाट्यसिद्धान्तका आधारमा गर्न सकिन्छ । पूर्वीयपाश्चात्य साहित्य प्राचीन कालदेखि नै नाट्य लेखन र नाट्य चिन्तन थालिएको पाइन्छ । पूर्वमा भरतमुनि र पाश्चात्य जगत्मा अरिस्टोटल नाट्यचिन्तनका आदिगुरु हुन् । प्रस्तुत अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र पाठात्मक विश्लेषण विधिमा गरिएको छ । प्रकृतवाद, अतियथार्थवाद र अस्तित्ववादको प्रभाव पनि उनको मनोविश्लेषणात्मक प्रयोगसँग जोडिएर आएको छ र त्यही ने ‘गोठाले’को नाट्यशिल्पको प्राप्ति हो भन्ने यस अध्ययनको निष्कर्ष छ ।