प्रिय मौनता कवितासङ्ग्रहका कवितामा लैङ्गिकता
DOI:
https://doi.org/10.3126/naj.v3i1.76646Keywords:
सत्ता सम्बन्ध, पितृसत्ता, मुलाकरम, वर्चस्व, शरीर राजनीतिAbstract
प्रस्तुत अध्ययन प्रिय मौनता कवितासङ्ग्रहका ‘सिल्भिया आफ्नै समाधिबाट’ र ‘नङ्गेली ब्लुज’ कवितामा लैङ्गिकताको अध्ययनमा केन्द्रित छ । ‘मौनता’ लाई स्त्रीलिङ्गी सम्बोधन बनाई प्रेमको उपासनाका केन्द्रमा रचिएका नेत्र एटमका प्रिय मौनताका कविताहरू भौतिक र आध्यात्मक प्रेम र समर्पणको सम्बोधनमा केन्द्रित भए पनि नारी सङ्घर्ष, चेतना र विद्रोहका केही ऐतिहासिक तथ्यसँग पनि जोडिएका छन् र तिनलाई लैङ्गिकताको सैद्धान्तिक आधारमा यहाँ अध्ययन गरिएको छ । कविताको गहन पठन गरी गुणात्मक विश्लेषण विधिबाट गरिएको प्रस्तुत अध्ययनमा नारी सङ्घर्षको ऐतिहासिक सन्दर्भ, शरीर राजनीति र शारीरिक अनुभूति तथा नारी उत्पीडनका विरुद्धको प्रतिरोधी चेतनाका पक्षबाट यस सङ्ग्रहका दुई कविताको मात्र विश्लेषण गरिएको छ । सिल्भिया र नङ्गेली जस्ता पश्चिमी (अमेरिका) र पूर्वीय (भारत) समाजका जुझारी नारी पात्रको सामाजिक ऐतिहासिक जीवनको कथा, उनीहरूलाई तत्कालीन सत्ता र समाजको भोगवादी दृष्टिकोणले गरेको विभेद तथा तिनका विरुद्ध ती दुवै नारीको जीवन समाप्तिसँगैको विद्रोहको सञ्चेतना यस अध्ययनमा समेटिएका छन् । सङ्ग्रहका दुई कविताको अध्ययनबाट सिल्भिया र नङ्गेली जस्ता जुझारू नारीको जीवनसङ्घर्षका कतिपय सबल पाटालाई सम्प्रेषण गर्न नसके पनि नेत्र एटमका कवितामा लैङ्गिकताको पाटो संवेदनशील रूपमा रहेको निष्कर्ष यस अध्ययनबाट प्राप्त भएको छ ।