प्रेमपिण्ड नाटकमा प्रेमदर्शन
DOI:
https://doi.org/10.3126/medha.v6i2.69907Keywords:
भगवत्प्रेम, भौतिकप्रेम, नाटकीय योजना, त्रिकोणात्मक प्रेम, प्रेमको आदर्शAbstract
प्रस्तुत अध्ययन बालकृष्ण समको प्रेमपिण्ड नाटकमा प्रस्तुत प्रेमदर्शनको अध्ययनमा केन्द्रित छ । प्रस्तुत नाटक सामाजिक विषयवस्तुअन्तर्गत नारी र पुरुषबिच परस्पर हुने प्रेमको विषयमा आधारित छ । युवायुवतीका बिच स्वाभाविक रूपमा प्रेम हुनु र त्यसमा विघ्न पुग्दा प्रेम दुःखान्त बन्ने कुरालाई यस नाटकमा प्रस्तुत गरिएको छ । प्रेमको स्वरूप प्रस्तुत गर्दै प्रेमको दर्शन प्रस्तुत गर्नु यस नाटकको मुख्य उद्देश्य रहेको देखिन्छ । प्रेमसम्बन्धी दर्शन प्राचीन कालदेखि नै पूर्वीय एवं पाश्चात्य चिन्तनपरम्परामा पाइन्छ । पूर्वीय चिन्तनमा प्रेमदर्शन मूलतः आध्यात्मिक प्रकारको छ । त्यसमा भगवत्प्रेमलाई महत्त्व दिएको र भौतिकप्रेम वा नारीपुरुषबिचको प्रेमलाई हेय ठानिएको पाइन्छ । पाश्चात्य चिन्तनमा प्राचीन ग्रिसेली दार्शनिकहरूदेखि प्रेमसम्बन्धी विचार अभिव्यक्त भएको पाइन्छ । तिनमा प्रेमलाई सौन्दर्यमा पुग्ने, राम्रा इच्छालाई प्रोत्साहित गर्ने र साख्यभाव उत्पन्न गर्ने शक्तिका रूपमा चित्रण गरेका छन् । नाटककाभर विलियम शेक्सपियरले आफ्ना नाटकमा प्रेमसम्बन्धी दृष्टिकोण प्रस्तुत गरेका छन् र प्रेमलाई कसैले रोक्नछेक्न नसक्ने विचार प्रस्तुत गरेका छन् । बालकृष्ण सम प्रेमलाई नियमित आकस्मिकताको दर्शनका आधारमा प्रस्तुत गरेका छन् । संरचनाका दृष्टिले विशालकाय प्रस्तुत नाटकमा प्रेमदर्शन स्पष्ट पार्नका लागि विषयवस्तुको चयन र वस्तुयोजनाको निर्माण गरिएको छ । त्रिकोणात्मक प्रेमसम्बन्धका कारण नाटक द्वन्द्वात्मक बनेको छ र दुःखान्त परिस्थितिको सिर्जना भएको छ । प्रेमलाई यस नाटकमा आदर्शवादी ढङ्गमा प्रस्तुत गरिएको छ । यस नाटकका सम्बन्धमा विभिन्न विद्वान्हरूले विभिन्न किसिमले अध्ययन गरे पनि प्रेमदर्शनका आधारमा अध्ययन भएको पाइँदैन । त्यही अभावको पूर्तिका लागि प्रस्तुत अध्ययन गरिएको हो । यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यबाट गरिएको छ र सामग्रीको विश्लेषण गुणात्मक पद्धति र विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । यस अध्ययनको निष्कर्ष प्रेमदर्शनको प्रस्तुतिका दृष्टिले प्रेमपिण्ड नाटक सफल छ भन्ने रहेको छ ।