डडेल्धुरेली भाषाका कोटिकर
DOI:
https://doi.org/10.3126/jnamc.v5i1.76842Keywords:
कोटिकर, गोलो, लाम्चो, गेडो, मानवीय, मानवेतरAbstract
कोटिकर भनेको सङ्ख्यावाचक शब्द र नामका बिचमा अनिवार्य रूपले आउने विशेष शब्द हो । यस्ता सङ्ख्यावाचक र नामका बिचमा आउने थुप्रै शब्दहरू डडेल्धुरेली भाषामा पाइन्छन् । वस्तुको आकार, प्रकार आदि जनाउन वाक्यमा कोटिकरको आवश्यकता पर्दछ । डडेल्धुरेली भाषामा यस्ता वस्तु गन्नका लागि वस्तुको आकारअनुसार कोटिकर पनि फरक फरक हुने गरेका पाइन्छन् । डडेल्धुरेली भाषामा रहेका गोलो आकारका वस्तु गन्न ‘दानो’ र ‘गानो’, लाम्चो आकारका वस्तु गन्न ‘कोसो’ र ‘सेलो’, अर्धचन्द्राकार वस्तुलाई जनाउन ‘पानो’ शब्दको प्रयोग हुन्छ भने ‘गेडो’ शब्दले लाम्चो र गोलो दुवै वस्तुलाई जनाउने गरेको पाइन्छ । यस्ता वस्तु गन्दा कोटिकर र लिङ्गको प्रयोग हुने गर्दछ । मानवीय नाममा कोटिकरको प्रयोग हुन्छ भने मानवेतर (जन्तुवाचक) नाममा कोटिकर लाग्दैनन् । तर मानवेतर (अजन्तुवाचक) नाममा भने कोटिकरको प्रयोग हुन्छ । कोटिकरमा पनि लिङ्गभेद हुन्छ । यो लिङ्गभेद मानवीय नाममा मात्रै हुने गरेको पाइन्छ । जन्तुवाचक नाममा भने कोटिकरमा लिङ्गभेद हुँदैन र कोटिकर पनि लाग्ने गरेको पाइँदैन । अजन्तुवाचक नाममा भने आकारअनुसार कोटिकर लाग्ने गरेको पाइन्छ । सिङ्गोे वस्तुलाई मात्रै नभएर बुजो, कुट्को, चिउलो आदि जस्ता खण्डहरू गन्न छुट्टाछुट्टै कोटिकर लाग्ने गर्दछन् । डडेल्धुरेली भाषामा कामको प्रक्रियालाई बुझाउन पनि केही कोटिकरहरूको प्रयोग हुने गरेको पाइन्छ ।