संस्कृत साहित्यको ऐतिहासिकता {Historicity of Sanskrit Literature}
DOI:
https://doi.org/10.3126/jdr.v5i1.51436Keywords:
महाकाव्य, पुराण–साहित्य, नीतिकथा, छन्दःसूत्र, कर्मकाण्ड, karmakanda, chhanda sutra, Mahakavya, Puran Sahitya, neetikathaAbstract
प्रस्तुत लेख संस्कृत साहित्यको उद्गम र विकासका सम्बन्धमा गरिएको सङ्क्षिप्त अध्ययन हो । ज्ञान–विज्ञान र साहित्यको विशाल भण्डार रहेको उच्च बौद्धिक र परिष्कृत संस्कृत भाषा प्राचीन समयमा बोलीचालीको लोकभाषा पनि हो । यस भाषाको वैदिक वाङ्मयको विकाससंगै साहित्यिक रूपको विकास भएर संस्कृत साहित्यको प्रारूप देखिन थालेको हो । यसै क्रममा ऋग्वेदलाई संस्कृत साहित्यको उद्गम बिन्दु मानिएको छ । वेदका विभिन्न शाखा–उपशाखा, ब्राह्मण, आरण्यक, उपनिषद् आदिमा संस्कृत साहित्यको वैदिक रूप देख्न सकिन्छ । संस्कृत साहित्यको लौकिक स्वरूप पुराणेतिहासको आर्ष रूपमा देखापर्दछ । संस्कृत वाङ्मयको आर्ष साहित्यिक भण्डारमा अठार पुराण र तिनका उपपुराणहरू छन् तर तिनलाई साहित्यभन्दा बढी इतिहासका रूपमा चिनाइन्छ । आर्ष साहित्यका रूपमा चिनिने लौकिक संस्कृतको उच्चतम् साहित्यिक ग्रन्थहरू रामायण र महाभारत हुन् । संस्कृत साहित्यको विकासको पछिल्लो चरण ललित साहित्य लेखनको उत्कर्षावस्था हो । कलात्मक साहित्य शास्त्रीय नियम र व्यकरणसम्मत परिष्कृतिको पालना गर्दै रचिएका छन् । संस्कृत साहित्यको विकास पाणिनि उत्तरकालमा उत्कर्षमा पुगेको देखिन्छ । त्यसबेला रचना गरिएका विधागत विशिष्टतायुक्त अनेकौ“ साहित्यिक ग्रन्थहरू संस्कृत साहित्यको भण्डारमा उपलब्ध छन् । यस लेखमा संस्कृत साहित्यको उद्भव र विकासका क्रममा देखापरेका विभिन्न चरण, विशिष्ट स्रष्टाहरू एवम् तिनका योगदानको विहङ्गम अध्ययन गर्दै संस्कृत साहित्यका भण्डारमा प्राप्त भएका महत्वपूर्ण उपलब्धिहरूको विवरण प्रस्तुत गरिएको छ । संस्कृत साहित्यको ऐतिहासिक विकासको सर्वेक्षणबाट ईशापूर्व एक हजार वर्षदेखि ईशाको सत्रौं शताब्दीसम्मको अवधि संस्कृत साहित्यको चरम विकास र उपलब्धिको अवधि रहेको देखिन्छ । वैदिक कालदेखि हालसम्म आइपुग्दा करिब एकतिस सय वर्ष पुरानो इतिहास भएको संस्कृत साहित्य विगत चारसय वर्षदेखि शिथिल अवस्थामा रहेको छ । पछिल्लो समयमा विभिन्न पश्चिमा मुलुकहरूले समेत संस्कृत भाषाको अध्ययन, अध्यापन एवम् खोज–अनुसन्धानमा अभिरुचि देखाएका र अनुसन्धनका क्रममा संस्कृतभाषा कप्युटरीकृत भाषा बन्न सक्ने प्रवलता रहेकाले संस्कृत साहित्यको पुनरुत्थान हुने सम्भावनालाई नकार्न सकिदैन ।