पुतली विषयक नेपाली बालगीत र बालकवितामा स्थायीभाव
DOI:
https://doi.org/10.3126/ire.v8i2.60210Keywords:
उत्सुकता, दृश्यबिम्ब, भाव, सौन्दर्य, शारीरिक क्रियाAbstract
प्रस्तुत आलेख पुतली विषयक नेपाली बालगीत र बालकवितामा रहेका स्थायीभावजन्य सौन्दर्यको अध्ययनमा आधारित छ । पूर्वीय काव्यशास्त्रमा विभाव, अनुभाव, व्यभिचारी भावको संयोगबाट उत्पन्न स्थायीभावलाई रसनिष्पत्तिको मूल आधार मानिएको छ । बालगीत र बालकविताको लक्ष्य विविध भाव सिर्जनाका माध्यमबाट भावकलाई आनन्दित तुल्याउनु हो । यस अध्ययनमा शोधसमस्या अनुरूप निर्मित सैद्धान्तिक पर्याधारका आधारमा नेपाली बालगीत र बालकविताका कृतिको सम्यक् पठन गरी सजीव र खेलौना पुतली विषयक नेपाली बालगीत र बालकविताका केही सामग्रीको सङ्कलन, वर्गीकरण र विश्लेषण गरिएको छ । यस विश्लेषणमा पुतलीको स्वभाव, सौन्दर्य, भेषभूषाका साथै उसप्रति राखिएको माया, ममता, स्नेह, आत्मीयतामा रति स्थायीभाव, झुसिल्किराजस्तो डरलाग्दो जीव पुतलीमा रूपान्तर भएको, रङ्गीचङ्गी फूलमा बहुरङ्गी पुतली खेलेको, पुतलीको शारीरिक क्रिया र रूपसौन्दर्य पनि अनौठो मानिएको सन्दर्भमा विस्मय स्थायीभाव तथा पुतलीको फुर्र फुर्र उडाइको दृश्यबिम्ब, पुतलीलाई दिइएको फूलपरी, फूलझुली र फूलकीरीजस्ता कथनमा हाँसो स्थायीभावको सौन्दर्य थपिएको छ । यसरी स्थायीभावको सौन्दर्यका दृष्टिले हाँसो र विस्मय स्थायीभावका तुलनामा रति स्थायीभावका पुतली विषयक नेपाली बालगीत र बालकविता कलात्मक रहेका पाइन्छन् ।