स्वप्नबगैँचामा एक छाया कथाको विपठन
DOI:
https://doi.org/10.3126/gyandeep.v10i2.77332Keywords:
अन्तर्पाठ, केन्द्रभञ्जन, मिथकीयता, रहस्यात्मकता, विधामिश्रणAbstract
प्रस्तुत लेखमा रमेश क्षितिजको ‘स्वप्नबगैँचामा एक छाया’ कथाको विपठन गरिएको छ । उत्तरआधुनिक मान्यताअनुसार विपठनलाई साहित्यिक कृति वा पाठको विनिर्माणिक पठन प्रक्रियाका रूपमा लिइएको छ । विनिर्माणको सैद्धान्तिक मान्यताअनुसार हरेक पाठको विपठन गर्न सकिन्छ । कथामा प्रस्तुत भएका विनिर्माणिक सन्दर्भको खोजी गरी तिनको पहिचान एवं विश्लेषण गरिएकाले यो अध्ययन गुणात्मक प्रकृतिको रहेको छ । यस लेखका लागि व्याख्यात्मक एवम् विश्लेषणात्मक विधिको प्रयोग गरिएको छ । ‘स्वप्नबगैँचामा एक छाया’ कथामा साहित्यिक विधाहरूको अन्तर्मिश्रण, पौराणिक मिथकीय सन्दर्भ, दर्शन र इतिहासका विषयको अन्तर्पाठ भएका सन्दर्भहरूको खोजी गरी तिनको व्याख्या विश्लेषण गरिएको छ । साहित्यको गद्याख्यान विधाको रूपमा स्थापित कथाको कविता, नाटक, निबन्ध लगायतका विधासँग अन्तर्विधात्मक सम्बन्ध रहनुका साथै अन्य विधातत्त्वको प्रविष्टिले कथामा विधामिश्रणका प्रवृत्ति देखिएको छ । नेपाली कथाको परम्परित मान्यताको विपरीत यस कथामा अन्य विधाको उपस्थितिले विधागत स्वायत्तताको भञ्जनले केन्द्रभञ्जन प्रवृत्ति देखिएको छ । नेपालको इतिहाससँग सन्दर्भित यथार्थ स्थानगत परिवेश र काल्पनिक पात्रलाई आधार बनाई तथ्य र कल्पनाको सम्मिश्रण गरी प्रस्तुत कथाको कथ्य संरचना तयार पारिएको छ । कथामा कविताको अंश साहित्यिक अन्तर्पाठका रूपमा, पुराणमा वर्णित पात्रका नाम, क्रियाकलापलगायत मिथकीय सन्दर्भहरू अन्तर्पाठका रूपमा प्रयोग भएका छन् । कथाको शिल्प र संरचनामा बहुलवादी प्रवृत्तिहरूको प्रयोगपरकताले यसमा आख्यान लेखनको भिन्न वैशिष्ट्यसहित बहुलता र अर्थगत अनिश्चितता प्रस्तुत भएको छ । यस अध्ययनबाट ‘स्वप्नबगैँचामा एक छाया’ कथामा कथाभित्र कविता, नाटकीयता, दर्शन, निबन्धात्मकता, मिथकीयताको सम्मिश्रण जस्ता उत्तरआधुनिक आख्यान प्रविधिको प्रयोग रहेकाले बहुलताको चेतना रहेको निष्कर्ष प्राप्त भएको छ ।