गुरुप्रसाद मैनालीको ‘परालको आगो’ कथाको आख्यानसंरचना
DOI:
https://doi.org/10.3126/bagisworij.v2i1.56538Keywords:
द्वन्द्व, समापन, मूल्याङ्कन, परिणाम, सारकथन, अभिमुखीकरणAbstract
परालको आगो कथाका लेखक गुरुप्रसाद मैनाली (१९५७ – २०२८) हुन् । उनले यस कथामा नेपाली लोक आहानमा प्रचलित ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ भन्ने उखानलाई मुख्य विषयवस्तु बनाएका छन् । यस विषयवस्तुलाई पूर्णता दिनका लागि उनले चामे र गौथली पात्र भएको घटनालाई लिएर कथानकको निर्माण गरेका छन् । आख्यानसंरचनाका विविध पद्धतिहरूमध्ये यस अध्ययनमा विलियम ल्याबोभद्वारा प्रस्तुत आख्यान संरचनाका घटकहरू सारकथन, अभिमुखीकरण, जटिल कार्य, परिणाम र निष्कर्ष, मूल्याङ्कन र समापन गरी छ ओटा घटकहरूका आधारमा परालको आगो कथाको विश्लेषण गरिएको छ । यो कथा विश्लेषणका लागि निगमनात्मक विधिको प्रयोग गरिएको छ । परालको आगो कथामा आख्यान संरचनाका घटकहरू एकअर्कालाई सहयोग र एकअर्काको सहारा बनेर अगाडि बढेका छन् । जटिलकार्य निर्माणका लागि अभिमुखीकरण, जटिल कार्यबाट परिणाम, कथाको सम्पूर्ण जिज्ञासाको समाधानका लागि समापन र सम्पूर्ण अवयवहरूको केन्द्रीयतामा सारकथनजस्ता संरचक घटकहरू आएका छन् । यी घटकहरूको अन्वितिपूर्ण प्रयोग भएकै कारण परालको आगो आख्यान संरचनाका दृष्टिले उत्कृष्ट कथा हो भन्ने निष्कर्ष प्रस्तुत अध्ययनबाट निकालिएको छ । परालको आगो कथाको आख्यानसंरचनाको विश्लेषण गरिएको प्रस्तुत अध्ययन आख्यानसंरचनाका आधारमा कथाहरूलाई बुझ्न चाहने पाठक तथा विश्लेषण गर्न चाहने समालोचकहरूका लागि उपयोगी सामग्री रहेको छ ।