तिजको सामाजिक सन्दर्भ
DOI:
https://doi.org/10.3126/anweshan.v2i2.74162Keywords:
नारीचेतना, पितृसत्ता, लोकप्रिय संस्कृति, वर्गीय सोपानक्रम, शिवपुराणAbstract
प्रस्तुत लेख तिज पर्व र यस पर्वसँग जोडिएको सामाजिक सांस्कृतिक सन्दर्भको विश्लेषणमा केन्द्रित छ । परम्परादेखि मानिँदै आएको तिजलाई आजको समयमा कसरी मनाउने र यस चाडलाई समयसापेक्ष रूपमा सृजनात्मक कसरी बनाउन सकिन्छ भन्ने विचार निर्माणमा यो लेख निर्देशित छ । पितृसत्ताले नियमन गर्दै लगेको चाड तिजलाई नारी चेतनाको निर्माण र महिला सशक्तीकरणको पक्षमा लैजाने विविध तरिकाका विषयमा यस लेखमा छलफल गरिएको छ । समाजको परम्परागत चिन्तनलाई चिर्दै फरक सोच र दृष्टिकोणबाट तिज पर्वलाई अझ रचनात्मक र निर्माणात्मक बनाउन यसमा रहेका सबल पक्षलाई चिन्नुपर्ने र नकारात्मक पक्षलाई हटाउँदै लैजानुपर्ने विचार व्यक्त गरिएको छ । यस लेखमा सामाजिक सांस्कृतिक अध्ययनको पक्षसँग जोडिएर तिजमा प्रचलित गीत, परम्परादेखि रहेका धार्मिक विश्वासका कट्टरपना र बदलिँदो परिस्थितिमा तिजमा देखिएका प्रभावका अनेक पक्षको विश्लेषण गर्दै यो चाडलाई कसरी समाजको अग्रगमनका लागि महिलाका चेतना निर्माणका पक्षमा विकसित गर्न सकिन्छ भन्ने पक्षबाट सुझावहरू पनि प्रस्तुत गरिएको छ । अध्ययनका लागि समाजका सांस्कृतिक विश्वास, उपभोक्तावादी पुँजीवादी व्यवस्थाले समाजमा पारेको प्रभाव र प्रचलन, तिज गीत आदिलाई आधार बनाइएको छ र तिजलाई आजका सन्दर्भमा अझ सकारात्मक सृजनशील बनाउन सकिने निष्कर्ष निकालिएको छ ।