‘लछमनियाको गौना’ कथामा आञ्चलिकता
DOI:
https://doi.org/10.3126/pb.v5i10.71386Keywords:
गौना, गङ्गापुरवाला, महुवारी, भोरहरीको सपना, बरमराकसAbstract
प्रस्तुत अनुसन्धानात्मक लेख सनत रेग्मीद्वारा लेखिएको ‘लछमनियाको गौना’ कथा आञ्चलिकता शीर्षकमा केन्द्रित छ । कथामा कथाञ्चलको भौगोलिक स्थिति, सामाजिक सांस्कृतिक अवस्था, वालविवाहको परम्परा, भाषिक प्रयोगलाई जीवन्त रूपमा र यथार्थपरक चित्रण गरिएको छ । यस कथाको भूगोल मुख्यतः राप्ती नदी पारि ग्रामीण बस्तीका सीवान, जोगा गाउँ, चकचुइया झुला इलाका रहेको र यसका अतिरिक्त नेपालगञ्जको बजार, भारतको गङ्गापुर र रामपुरसम्म फैलिएको देखिन्छ । कथामा लछमनिया र गङ्गापुरवालाको बाल्यकालमै वालविवाह भई अहिले दुवै जना जवान भएका अवस्थामा पति लछमनियालाई गौना गरी घरमा लैजान चाहने र लछमनियाको बाबु गङ्गापुरवालालाई घरज्वाइँ राख्न चाहेको कुरा कथामा मुख्य रूपमा उठाइएको छ । गौना माग्ने र गौना नदिने यी दुईका जुधाई र मिचाइमा लछमनियाको जवानी परेको कुरा कथामा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । अन्ततः जवानीले अत्तालिएकी लछमनिया दक्षिणतर्फको सीवानमा घाँस खुर्कदै गर्दा एकदिन गङ्गापुरवाला जस्तै देखिने रामपुरवालासँग भेट हुन्छ । बातचितमा रामपुरवालाले आफूलाई गङ्गापुरवाला हुँ भनी छलछाम गरि लछमनियालाई साइकलमा राखेर नेपाल भारतको सीमा क्षेत्र भारतको विहारतर्फ भगाई उसको भविष्य अनिश्चित बनाइएको कुरा कथाले सङ्केत गरेको छ ।